पैसा खाएको प्रमाणित गर्नुहोस्, पत्रकारिता छाड्न तयार छु : रवि लामिछाने
  • https://i1.wp.com/bisuonline.com/wp-content/uploads/2019/08/safe_image-1-24.jpg?resize=540%2C281&ssl=1

    पैसा खाएको प्रमाणित गर्नुहोस्, पत्रकारिता छाड्न तयार छु : रवि लामिछाने

    काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् ।

    मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाबी गरेका हुन् ।

    उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । मलगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ।’

    उनले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिए ।

    लामिछानेले आफू २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि जिकिर गरे । ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’ उनले भने ।

    त्यस्तै, राजनीतिमा आउने विषयमा लामिछानेले सञ्चारकर्मबाट नै देशमा योगदान पुर्याउने आफ्नो सोच रहेको स्पष्ट पारे ।सीधा कुरा जनतासँगको कार्यक्रममा आगामी शनिबारदेखि उपस्थित हुने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘यो परिवर्तन पनि हुनसक्छ, टीमसँग छलफल भएको छैन ।’