कृषि बैङ्क चोरी प्रकरण: ११ पक्राउ, कर्मचारीकै मिलेमतो हुन सक्ने
  • https://i2.wp.com/bisuonline.com/wp-content/uploads/2019/09/safe_image-3-10.jpg?resize=540%2C282&ssl=1

    कृषि बैङ्क चोरी प्रकरण: ११ पक्राउ, कर्मचारीकै मिलेमतो हुन सक्ने

    कृषि विकास बैंकको सीस्टम ह्याक गरी अवैध रुपमा ४ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको छ । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिएका छन् । सोमबार र मङ्गलबार गरि बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्ज्याक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो ।

    खबर पाए लगत्तै प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई पक्राउ गरेको थियो । यद्यपि नियन्त्रणमा लिइएकाको नाम खुलाइएको छैन । बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको  श्रोतले बताएको छ ।

    जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका थिए । प्रहरीका अनुसार विगतको भन्दा फरक तरिका अपनाएर रकम निकालिएको पाइएको छ ।

    यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको र बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सक्ने प्रहरीको भनाइ छ ।

    कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको बैङ्क श्रोतको दाबी छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम मात्र विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको छ ।

    यता बैंकले भने रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको जनाएको छ । ग्राहकको रकम रहने सिस्टम प्रयोग नगरिएको र बैङ्ककै नाफा नोक्सानको खाताबाट नाफा रकम अरुको खातामा पठाइएको पाइएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको छ ।